विश्व कप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनले हरायो

घरेलु टिम भारतले दक्षिण अफ्रिकाविरुद्ध २४३ रनको फराकिलो जित निकाल्दै आईसीसी विश्वकपमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । जारी विश्वकपमा शतप्रतिशत नतिजा निकालेको भारतको यो आठौँ जित हो ।

आइतबार कोलकातास्थित इडेन गार्डेनमा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको ३२७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमै समेटियो । भारतीय बलरसामु निरीह देखिएका दक्षिण अफ्रिकी ब्याटर कोही पनि जम्न सकेनन् । मार्को जान्सेनले १४ र रसी भान डेर डुसेनले १३ रन जोड्दा कप्तान टेम्बा बवुमा र डेविड मिलरले समान ११ रन बनाए । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका रविन्द्र जडेजाले पाँच विकेट लिए । कुलदीप यादव र मोहम्मद सामीले समान दुई विकेट लिए । मोहम्मद सिराजको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३२६ रनको योगफल खडा गरेको थियो ।भारतका विराट कोहलीले अविजित १०१ रन बनाए । आजै ३५औँ जन्मदिन मनाएका विराटले १२१ बलमा १० चौका प्रहार गरे । श्रेयस ऐयरले ७७ रन थपे । कप्तान रोहित शर्माले ४०, रविन्द्र जडेजाले २९, सुभमन गिलले २३ र सूर्यकुमार यादवले २२ रन जोडे ।

दक्षिण अफ्रिकाका लुंगी एन्गिडी, मार्को जान्सेन, कगिसो रबाडा, केशब महारेज र तबरेज साम्सीले समान एक विकेट लिए । जितसँगै आठ खेलबाट १६ अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।