कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित पक्राउ

कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित पक्राउ परेका छन्। सेवाग्राहीलाई काम गरेवापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले आज दत्तलाई नियन्त्रणमा लिएको हो। 

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार दत्तलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको पचास हजार रुपैयाँसहित कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेको कारागार प्रशासकको निवासबाट आज नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दत्तविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।