गैरकानुनी आर्जन अभियोगमा वीरगन्ज नापतौल कार्यालयका निरीक्षकलाई ६ महिना कैद

तीन करोड रुपैयाँभन्दा बढीको स्रोत खुलाउन नसकेपछि गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका वरिष्ठ निरीक्षकलाई सजाय सुनाइएको छ । उक्त कार्यालयका निरीक्षक शशीभुषण कुमार यादवले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएको हो । 

यादवसमेत चार जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जेठ ०८० मा मुद्दा दायर गरेको थियो । उनले सार्वजनिक पदमा रहँदा अवैध रुपमा आर्जन गरेको तथा त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती रिना रानी र छोराहरु विकास यादव, अविनास यादवको नाममा राखेको दाबीसहित मुद्दा दर्ता भएको थियो । 

उनी ०४६ जेठदेखि सरकारी सेवामा प्रवेश गरेका हुन् । अख्तियारले उनको ०७९ असारसम्मको आय गणना गरेको थियो । जस क्रममा उनको खर्च तथा लगानी ७ करोड २४ लाख ५६ हजार रुपैयाँ रहेको भेटिएको थियो भने वैध आय केवल दुई करोड ७७ लाख रुपैयाँ हुनुपर्ने थियो । 

अख्तियारले स्रोत नखुलेको ४ करोड ४७ लाख रुपैयाँलाई बिगो कायम गर्दै मुद्दा चलाएकोमा विशेषले भने उनको अवैध आय ३ करोड ३० लाख ५१ हजार रुपैयाँ रहेको ठहरसहित सजाय सुनाएको हो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा फैसला गरेको हो । उक्त इजलासले यादवलाई ६ महिना कैद तथा बिगो बमोजिम जरिवाना र बिगोबराबरको सम्पत्ति जफत हुने फैसला गरेको छ ।