आजको मौसम : मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना

 काठमाडौँ - नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।