सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा विशेष अदालतले तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण समितिका अध्यक्ष र सदस्य तथा प्रधानाध्यापकलाई अदालतले दोषी ठहर गरेको हो ।
अदालतले सोमबार सजाय निर्धारण गर्दै निर्माण समिति अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक रामवचन प्रसाद, समिति सदस्य रामचन्द्र साह कानुलाई दुई वर्ष छ महिना कैद सजाय निर्धारण गरेको छ ।
अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य शालिग्राम कोइरालाको इजलासले सोमबार सजाय निर्धारण गरेको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले प्रतिवादीलाई दुई वर्ष छ महिना कैद सजाय र मागदाबी अनुसार बिगो तथा जरिबाना भएको बताउनुभयो ।
अदालतले मागदाबी अनुसार ११ लाख ९५ हजार रुपियाँ जरिबाना र बिगो भराउन आदेश गरेको छ । भवन निर्माणका लागि पेस्की रकम लिई कुनै कार्य नगरी हानिनोक्सानी पु¥याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै जनाविरुद्ध विशेष अदालतमा मु्द्दा दायर गरेको थियो ।
काम सम्पन्न नगरेको र पेस्की रकमसमेत विद्यालयको खातामा दाखिला नगरेपछि अख्तियारले मुद्दा दायर गरेको थियो । पेस्की रकम लिएर निर्माण सम्पन्न नगरेको, भवन निर्माणका लागि कानुन अनुसार गर्नुपर्ने सम्झौता नगरेको भन्दै आयोगले मुद्दा दायर गरेको थियो ।