सर्बियामा मासिक ७० हजार तलब हुने भन्दै ठगी गर्ने १ जना पक्राउ

प्रहरीले सर्बिया पठाउने नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको राइनास नगरपालिका–१० का ३१ वर्षीय चन्द्र गुरुङ रहेका छन् ।

उनले रामचन्द्र भण्डारीसहितलाई सात लाख ५० हजार रुपैयाँ लागतमा वैदेशिक रोजगारीका लागि सर्बिया पठाउने बताएका थिए । उनले पीडितहरूलाई सर्बिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक ७० हजार रुपैयाँ तलब हुने बताएका थिए ।

तर, उनी पीडितहरूबाट पटकपटक गरी तीन लाख रुपैयाँ लिएर फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुरुङलाई बुधबार काठमाडौंस्थित न्युरोडबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारकाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।