घुस लिँदालिँदै पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बरालसहित ३ जना दोषी ठहर, जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद

घर निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि घुस लिने क्रममा पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र विचौलिया सुरज कुँवर दोषी ठहर भएका छन् । गत चैत २८ गते घर सम्पन्नताको प्रमाणपत्र दिने सर्तमा घुस लिँदालिँदै सब–इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रंगेहात पक्राउ परेका थिए । त्यसलगत्तै यही प्रकरणमा मुख्य दोषी मानिएका इन्जिनियर शिवप्रसादलाई समेत पक्राउ गरी अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो ।

पोखरा १० मा बनेको एक घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन इन्जिनियर बरालकै नेतृत्वमा रोकाया र सुरजले घुस मागेका थिए । त्यही क्रममा २ लाख रुपैयाँ बुझाइसकेर थप डेढ लाख रुपैयाँ बुझाउने क्रममा पोखरा–५ बाट उषाकिरण र सुरज पक्राउ परेका हुन् ।

अख्तियारले अनुसन्धानपछि गत वैशाख २० गते २ इन्जिनियरसहित २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा मुद्दा दायर भइसकेपछि बयान फेरेको आरोपमा अख्तियारले पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि पनि साउन १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको हो । घुस दिन मतियारको रुपमा काम गरेका गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवामा कार्यरत कुँवरलाई भने उनीहरुकोभन्दा आधा सजाय सुनाइएको छ । मतियार सुरजलाई ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला भएको विषेश अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अनुसन्धानका क्रममा घुसबापतको २ लाख रुपैयाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएको छ । त्यो रकम जफत गरेर उजुरीकर्तालाई फिर्ता गर्ने फैसला अदालतले गरेको छ ।

यही घुस प्रकरणमा अदालतमा बयान फरेको आरोपमा मुद्दा चलाइएका केशरीप्रसाद तिवारी र उर्मिला पौडेललाई भने सफाइ दिइएको छ । तिवारी र पौडेलले अख्तियारमा दिएको बयानको अदालतमा प्रतिकूल हुनेगरी बकपत्र गरेको उजुरी थियो । नियोजित रुपमै बयान फरेको प्रमाणित भएपनि उनीहरुलाई पनि भ्रष्टाचार मुद्दा चलाइएको थियो । तर, उनीहरुलाई अदालतले सफाइ दिएको छ ।