म्याक्सवेलको २०१ रनको मद्धतमा अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा

एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको दुई सय ९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले २०१ रनको दोहोरो शतक खेले ।

अफगानिस्तानका नभिन उल हक, अजम्तुल्लाह ओमरजाई र रासिद खानले दुई दुई विकेट लिए । त्यस अघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९१ रन बनायो ।

अफगानिस्तानका इब्राइम जद्रानले १ सय २३ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवूडले २ विकेट लिए । ८ खेलमा ६ वटा जितेको अष्ट्रेलिया १२ अङ्क सहित जारी विश्वकपको तेस्रो स्थानमा छ । सामान ८ खेलमा चार वटा जितेको अफगानिस्तान आठ अङ्क सहित छैटौं स्थानमा छ ।

हिजोको जितसँगै अस्ट्रेलियाले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ । अब चौथो स्थानका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानकै बीचमा तीव्र प्रतिस्पर्धा हुने छ । पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।