गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साह एकैदिन चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर

गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साह एकैदिन चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको छ भने तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले विद्यालयका लागि निकासा भएको रकम हिनामिनाका चार फरक मुद्दामा उनलाई दोषी ठहर गरेको हो । तीन मुद्दामा उनलाई करिव १६ लाख रुपैयाँ बिगो र त्यति नै जरिवानाको फैसला भएको छ ।

चौथो मुद्दामा साढे २ वर्षदेखि ४ वर्षसम्म कैद हुनसक्ने भएकाले विगो र कसुर निर्धारणका लागि आगामी ७ माघमा सुनुवाईको मिति तोकेको छ । तीन वर्षभन्दा बढी कैद हुनसक्ने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाई गर्नुपर्छ । त्यही दिन चौथो मुद्दाको विगो र जरिवाना निर्धारण पनि हुनेछ । प्रधानाध्यापक साहले जिल्ला शिक्षा कार्यालयबाट ट्रस भवन निर्माण बापतको रकम दुरुपयोग गरेका थिए । झुटा प्रतिवेदन र बील बनाई रकम दुरुपयोग गरेको आरोप उनीमाथि थियो ।

विद्यालयमै ल्याब बनाउने र शैक्षिक सामग्री खरिदको रकम दुरुपयोग गरेको अर्को मुद्दा थियो । विद्यार्थीले पाएको छात्रवृत्ति, पोशाक, झोलाको रकम समेत फर्जी कागजातका आधारमा दुरुपयोग गरेकोमा पनि मुद्दा चलेको थियो । अनि छात्रा शौचालयको रकम समेत दुरुपयोग गरेको भन्दै थप मुद्दा परेका हुन् । उनले विद्यालय व्यवस्थापन समितिको समेत नक्कली निर्णय बनाएको आरोप छ ।