धनुषामा नक्कली लाइसेन्स पेश गरी शिक्षक नियुक्त भएको आरोपमा शिक्षक ब्रह्मदेव यादवमाथि भ्रष्टाचार मुद्दा दायर

नक्कली स्थायी अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को आधारमा शिक्षक नियुक्त भएको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिका- १० स्थित माध्यमिक विद्यालयका शिक्षक ब्रह्मदेव यादवमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नक्कली लाइसेन्स पेश गरेर यादव २०६६ सालमा निमावि राहत कोटामा शिक्षक नियुक्त भएका थिए । उनले हालसम्म सोही पदमा कार्यरत रहेर तलबभत्ता खाँदै आएका छन् ।

नक्कली लाइसेन्सको आधारमा शिक्षक नियुक्त भई तलबभत्ता सुविधा लिँदै आएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । सो विषयमा छानबिन गर्दा उनको लाइसेन्स नक्कली रहेको पाएपछि आयोगले आज विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

उनीमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना सजायको माग दाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।