इजरायलमा १० जना नेपाली मारिएको औपचारिक पुष्टि, १ जना अझै सम्पर्कविहीन

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो।

हमासले गरेको आक्रमणमा विशेष गरी  सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्। शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।

आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले  इजरायलमा केही नेपाली हताहत भएको बताएका थिए। मन्त्री साउदले संसदमा दिएको जानकारीअनुसार इजरायलमा अहिले चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेका छन् भने दुई सय ६५ जना विद्यार्थी अध्ययनरत छन्।
हमासले शनिबार गरेको आक्रमणको जवाफमा इजरायलले पनि आक्रमण गरिरहेको छ।

अहिले पनि लडाइँ जारी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबै पक्षका गरी ५ सयभन्दा बढी मानिसले लडाइँमा ज्यान गुमाएका छन्।नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई मृतक, घाइते र बेपत्ता भएका नेपालीको सूची पठाएको छ । परराष्ट्र मन्त्रालयले प्राप्त गरेको सूचीअनुसार कैलालीको घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, कैलाली बौनियाँका आशिष चौधरी, दार्चुलाको लेकम गाउँपालिका– ५ का दीपेशराज विष्टको मृत्यु भएको छ ।

त्यस्तै, डोटीको तत्कालीन पचनली गाविस– ३ का राजन फुलारा, डोटीकै तत्कालीन लामिखाल गाविस– ८ का पदम थापा र सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारीको मृत्यु भएको छ । त्यस्तै, दार्चुलाको मालिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी, धनुषाको तत्कालीन सपही गाविस– ६ का आनन्द साह र सुनसरीको तत्कालीन मधुवन गाविस– १ का राजेशकुमार स्वर्णकारको मृत्यु भएको छ । 

सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी–त्रिशक्ति नगरपालिका– ४ का वीरेन्द्र चौधरीलाई उद्धार गरेर राजधानी तेलअभिभतर्फ पठाइएको छ । अर्को सहरमा रहेका, तर सुदूरपश्चिम विश्वविद्यालयको त्यही समूहमा इजरायल गएका कञ्चनपुरका भीमदत्त नगरपालिका– ३ का विपिन जोशी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।