सर्लाहीको धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पुर्पक्षका निम्ति कारागार चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पुर्पक्षका निम्ति कारागार चलान गर्न आदेश दिएको सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा वडाध्यक्ष महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर गरिएको थियो ।
मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि उनलाई पुर्पक्षका निम्ति कारागार चलान गर्न आदेश दिइएको न्यायाधीश थापाले बताए । मुद्दाको अन्तिम फैसला नहुँदासम्म महतोलाई पुर्पक्षका निम्ति कारागार पठाउने आदेश भएको हो ।
उनका अनुसार यो मुद्दामा अरू केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । ती व्यक्ति फरार रहेका र उनीहरूको खोजी जारी रहेको उनले बताए ।