राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

आज भएको राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । आज राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । 

५९ सदस्यीय राष्ट्रियसभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मतमात्र पाइन् । मतदानमा ५५ सदस्य सहभागी भएका थिए ।