मेलम्ची खानेपानी भ्रष्टाचारमा पूर्वसचिव ठाकुरसहित ४ जना दोषी ठहर, असोज ७ मा सजाय निर्धारण

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिँदै बाँकी ४ जना कर्मचारी र सिएमसीलाई पनि दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुनमा मेलेम्चीमा भ्रष्टाचार भएको आरोप लगाउँदै ३ पूर्वसचिव सहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएकोमा विशेषले सिएमसीलाई दोषी ठहर गरेको छ ।

विशेषले पूर्वसचिव गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ पैसा बिगो भराउन माग गरेको छ भने देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो भराउन माग गरेको छ । इप्टिसा र बेट्स (बीइटीएस)लाई ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो ठहर गरेको छ ।

विशेष अदालतको आदेश अनुसार इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी भएको ठहर गर्दै उनीहरुमाथि सजाय र जरिवानाका लागि असोज ७ गते पेशी तोकेको छ ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष समेत रहेका खानेपानी मन्त्रालयका तत्कालिन सचिव डा.सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, सहसचिव रुद्रसिंह तामाङ र मुकुन्दप्रसाद पौडेल लगायत १० जनालाई सफाई दिएको छ । सफाई पाउनेमा घनश्याम भट्टराई, चन्द्रबहादुर थापा, मणिभद्र न्यौपाने, रामचन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल र भोजविक्रम थापा पनि रहेका छन् । अख्तियारले उनीहरु सबै विरुद्ध ६ करोड ९७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको थियो ।