आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुने

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुनेछ । हिजो र आज दाबीविरोध र उजुरीउपर छानबिन गरेपछि निर्वाचन आयोगले आजै उमेदवारको नामावली प्रकाशन गर्ने भएको हो । 

सोमबार उमेदवारहले मनोनयन दर्ता गरेका थिए । मनोनय दिएका उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । उक्त अवधीमा दुई उमेदवारविरुद्ध उजुरी परेको थियो ।  सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको थियो । 

निर्वाचन आयोगको कार्यतालिकाअनुसार २७ गते (भोलि) नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभामा रिक्त १९ पदका लागि मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिनेछ । 

निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ । निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।