यातायात व्यवस्था विभागमा अख्तियारको छापा :-नक्कली लाइसेन्स प्रकरणमा को को तानिँदै ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै एक लाख अवैद्य लाइसेन्स वितवरण प्रक्रियामा मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा छापा हानेको छ । अख्तियारको टोलीले बुधबार अपरान्ह मीनभवनस्थित विभागको कार्यालयमा छापा हानेको हो ।

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलिया मिलेर पछिल्लो समयमा १ लाख अवैद्य लाइसेन्स वितरण गरिएको रहष्य खुलेको छ । पछिल्लो ६ महिनामै मात्र ४० हजार बढी अवैध लाइसेन्स जारी भएको भेटिएसँगै अख्तियारको टोली हिजो मीनभवनस्थित कार्यालयमा पुगेर त्यहाँका सबै कागजात नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

करिब एक लाखभन्दा बढी नक्कली लाइसेन्स बाँडिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएर छानबिन प्रक्रिया अगाडि बढाएको छ । यो प्रकरणमा यातायात व्यवस्था विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदननै बुझाइसकेको छ । विभागको महानिर्देशकको कुर्सीमा लावण्यराज ढकाल पुगे यता यो धन्दा मौलाएको कर्मचारीहरु बताउँछन् । उनीपछि सहसचिवहरु कुमारप्रसाद दाहाल, गोगनकुमार हमाल, नमराज घिमिरे, सुरेश राउत, टोकराज पाण्डे, तुलसीनाथ गौतम, नारायणप्रसाद भट्टराई यातायात व्यवस्था विभागका महानिर्देशकको कुर्सीमा पुगे । हाल त्यहाँ महानिर्देशकको रुपमा उद्धवप्रसाद रिजाल कार्यरत छन् ।

यही अवधिमा सूचना प्रविधि निर्देशकको पदमा श्रीचन्द्र साह र पवित्र डंगोल,कम्प्यूटर ईन्जिनियरको पदमा राजकुमार महर्जन, केशवराज गौतम, कपिला श्रेष्ठ थैव, सन्तोष पोखरेल र सुरज प्रकाश अर्याल कार्यरत रहेका देखिन्छ ।यातायात विभाग स्रोतका अनुसार निर्देशक तथा आईटी शाखा प्रमुख मुकेश रेग्मी भएसँगै यो धन्दाले प्रश्रय पाएको हो ।

विभागका सूचना प्रविधि निर्देशक मुकेश रेग्मी नेतृत्वको छानबिन समितिको प्रतिवेदनले अवैध लाइसेन्स जारी धन्दामा विभागका तत्कालीन २ सूचना प्रविधि निर्देशक र ५ इन्जिनियरको भूमिकामाथि प्रश्न उठाएको छ ।अख्तियारबाट खटिएको टोलीले बुधबार यातायात व्यवस्था विभागमा पुगेर अनुसन्धान सुरु गरेको हो । विभागले दिएको रिपोर्टमाथि थप छलफल गर्नुका साथैं लाइसेन्स दिने प्रक्रियाबारे बुझ्न अख्तियारको टोली हिजो मिनभवन पुगेको बताइएको छ ।