हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि साधुको भेषमा पक्राउ

चितवनमा हत्या गरी फरार रहेका एक व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईंलाई साधुको भेषमा सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । खोजी गर्ने क्रममा नवलपरासी पश्चिम वर्दघाट नगरपालिका–४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रूपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।  

चापागाईं भरतपुर महानगरपालिका–७ बस्ने मनकुमारी वाग्लेको हत्या गरी फरार भएका थिए । नातामा नाति पर्ने चापागाईंले २०६१ मंसिर १४ गते मनकुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या गरेका थिए । हत्यापश्चात कानमा लगाएको गरगहनासमेत लुटी फरार भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।