भेपमार्फत सुन तस्करी प्रकरणमा राहुल महरा सहित ४ जना विरुद्ध मुद्धा दायर

पूर्व सभामुख कृष्ण बहादुर महरा समेत मुछिएका सुन प्रकरण, भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा हिजो मंगलबार महराविरुद्ध मुद्दा दर्ता भएको हो । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल, सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४ सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियमका नागरिक ३९ वर्षीय दावा छिरिङ र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दायर भएको हो।

प्रहरीले राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी लिएको छ । 

मुद्दा दायर भएकाहरुमा बेल्जियन नागरिक दाओजिन वाङलाई आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएपनि अन्य तीन जनाको हकमा भने भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मात्रै मुद्दा चलाएको हो ।  भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगोका रकम हेरी १ करोडदेखि ३ करोडसम्मको बिगो भएमा एक वर्षदेखि ३ वर्षसम्म कैद र ३ करोडभन्दा बढी बिगो भएमा ३ देखि ५ वर्षसम्मको कैद सजाय हुने उल्लेख  गरिएको छ ।

भेपमा सुन लुकाई ल्याएको प्रकरणमा ८ करोड रुपैयाँभन्दा बढीको बिगो कायम गरिएकाले उक्त मुद्दामा उनीहरु दोषी ठहर भएमा कम्तीमा ३ वर्ष र अधिकतम ५ वर्षको कैद सजाय हुनेछ  त्यसबाहेक संगठित अपराधमा पनि उनीहरुको संलग्नता पुष्टी भएमा उनीहरुलाई मुल कसुरमा थप ५० प्रतिशत कैद हुनेछ । यसरी दुवै मुद्दामा दोषी ठहर भएमा अधिकतम साढे ७ वर्ष र न्युनतम साढे ४ वर्षको कैद सजाय हुनेछ ।

यसअघि अनुसन्धान प्रतिवेदन सिआईविमा नै फिर्ता भन्ने समाचारमा भुलसुधार गरिएको छ । *