अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका ३३ वर्षीय अफताब आलम र महोत्तरीका २७ को विनय साह रहेका छन् । अहिले उनीहरू ललितपुर बस्दै आएका थिए ।
प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको 'मार्केट प्लेस'मा सस्तो मूल्यमा आइफोन बिक्रीको विज्ञापन राख्ने गरेका थिए । खरिद गर्न खोज्नेहरूसँग उनीहरूले अग्रिम १० प्रतिशत भुक्तानी माग्थे । बाँकी रकम किस्तामा तिर्न सकिने आश्वासन दिएर उनीहरूले पीडितहरूलाई डेलिभरीको सामान आइपुगेको बताउँथे । त्यसपछि भन्सार शुल्क, डेलिभरी शुल्क र इन्स्योरेन्स शुल्कसहित विभिन्न प्रयोजनमा रकम तिर्नुपर्ने बताएर पैसा पठाउन लगाउँथे ।
उनीहरूले वैदेशिक रोजगारको विज्ञापन राखेर पनि ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खातामा १० लाख ३९ हजार रुपैयाँ रकम पठाउन लगाएर ठगी गरेको पाइएको प्रहरीले बताएको छ । ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।