कस्तो रह्यो राष्ट्रपति भण्डारीको सातवर्षे कार्यकाल ? बिवादित कार्यहरु के-के भए ? 

काठमाण्डौँ - नेपालको दोस्रो राष्ट्रपतिको जिम्मेवारीमा दुई कार्यकाल बिताएकि राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आजबाट सकियो । राष्ट्रपतिको कार्यकाल दुई पटक सम्हालेकी भण्डारी शितलनिवासबाट बाहिरिने अन्तिम तयारीमा छिन् ।

चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्रं पौडेल बिहीबार निर्वाचित भएसँगै उनी शितलनिवासबाट बिदा हुन लागेकी हुन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै नवनिर्वाचित राष्ट्रपति पौडेलले पदभार ग्रहण गर्ने भएका छन् । 

राष्ट्रपतिमा सात वर्षे कार्यकाल पूरा गरेर घर फर्किन लागेकी विद्यादेवी भण्डारीले प्रशंसकभन्दा पनि बढी आलोचक कमाएकी छन् । एमाले उपाध्यक्ष हुँदै राष्ट्रपति बनेकी भण्डारी सम्पूर्ण नेपालीको होइन, एमालेमै पनि सर्वस्वीकार्य भइनन् । विवादै विवादमा परेर भण्डारीले आफ्नो कार्यकाल पूरा गरेकी छन् । घर फर्कंदै गर्दा भण्डारीले प्रशंसकमा एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापा मात्र पाएकी छन् । एमाले अध्यक्ष ओली र थापाले भने राष्ट्रपति भण्डारीको कार्यकाल सफल भएको टिप्पणी गरेका छन् ।

ओलीले महिला आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय भएको बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुधबार अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा ओलीले भण्डारीले सात वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै प्रशंसा गरे । ‘तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको व्यक्ति विद्या भण्डारीले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियतमा सफलतापूर्वक नेतृत्व गर्नुभयो । यसमा हामीले गौरव गर्नुपर्छ,’ उनले भने ।

भण्डारीले प्रथम महिला राष्ट्रपतिका रूपमा गौरवपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । ओली प्रधानमन्त्री हुँदा भण्डारीले सरकारले लगेका अध्यादेश तत्काल जारी गर्ने मात्र होइन, दुई दुईपटक प्रतिनिधिसभा विघटन गर्दा पनि कतै परामर्श नलिई तुरुन्तै सदर गरेकी थिइन् । जसले गर्दा भण्डारी विवादमा परेकी थिइन् । भण्डारीलाई ओलीको आदेश मात्र मान्ने भन्दै एमालेमै विरोध भएको थियो । नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपालगायतका दल भण्डारीको भूमिकाबाट सन्तुष्ट छैनन् । सोही कारण यसपटक एमालेका उम्मेदवारलाई कसैले पनि सहयोग नगरेका हुन् ।

कमल थापाले भने आधा सजाय माफ गरेका कैदीबन्दीलाई आममाफी दिने सरकारको अध्यादेश राष्ट्रपति भण्डारीले रोकेर धेरै राष्ट्रवादी काम गरेको भन्दै सात वर्षे कार्यकाल सफल भएको टिप्पणी गरेका छन् ।

तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकता भएर बनेको नेकपाकालमा भएको पार्टीको आन्तरिक शक्ति संघर्षमा उनको भूमिका निर्विवाद हुन नसकेको यथार्थता उनको भूमिकाले देखाउँछ ।

राष्ट्रपति भण्डारीको भूमिका पछिल्लो नागरिकता विधेयकसम्म आउदा उल्लेख्य रुपमा विवादास्पद चरित्र प्रस्फुटित हुन पुगेको हो ।

नेपालका हालसम्म राष्ट्रपतिको तीन कार्यकाल बहन गरेपनि राष्ट्रपति भण्डारीले दुई कार्यकाल राष्ट्रपतिमा पदासीन रहने सौभाग्य पाएकी थिइन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको श्रीमती रहेकी भण्डारी उनको रहस्यमय जीप दुघर्टनापछि राष्ट्रिय राजनीतिमा आएकी थिइन् ।

एमालेका महासचिव रहेका भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद हाल एमालेको मार्गदर्शक सिद्धान्तको रुपमा अंगीकार गर्दै आएको छ । यद्यपि जबज भनिने एमालेको संसदीय प्रजातन्त्र सीकार्ने उक्त सिद्धान्तको निर्माणमा तत्कालीन एमालेका अन्य नेताहरुको भूमिका रहेको समेत बताइन्छ । तर, त्यसको श्रेय हालसम्मै उनै मदन भण्डारीलाई नै जान्छ ।

उनै भण्डारीकी श्रीमती रहेकी निवर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल सकिने समयावधीमा उनको केही कामकारबाहीले भने उनको साख कायम राख्न सकेन । तत्कालीन प्रधानमन्त्री रहेका ओलीले संसद विघटन गरेको असंवैधानिक कदमलाई वैधता दिनु राष्ट्रपति भण्डारीको गम्भीर कमजोरी भएको आजपनि चर्चा हुने गर्दछ ।

केही विवादित काम भएको भए पनि राष्ट्रपति भण्डारीको कार्यकालमा ठूला परिघटना नभएका कारण समग्रमा उनको कार्यकाललाई सन्तोषजनक रुपमा नै हेरिन्छ ।