राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानबाट उनी अध्यक्ष चुनिएका हुन् । दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका थिए । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका युवराज शर्मालाई पराजित गरे । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत पर्यो । शर्माका पक्षमा भने १७ मत मात्र परेको थियो ।
दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन माओवादी केन्द्रसहित‚ नेकपा (एमाले)‚ नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का सांसदले मतदान गरेका थिए । मनोनीत सांसद वामदेव गौतमले पनि दाहालका पक्षमा मतदान गरे ।
पराजित शर्माका पक्षमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले मतदान गरे । एक मत रहेको राष्ट्रिय जनमोर्चाका सांसद तटस्थ बसे, कतै मतदान गरेनन् । राष्ट्रियसभा अध्यक्षमा निर्वाचित दाहाल नातामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन सदस्य मनोनीत गर्ने व्यवस्था छ । निर्वाचित दाहाल र गौतम मनोनीत सदस्य हुन् । एक सदस्य मनोनीत गर्न बाँकी छ । ५९ संसदीय राष्ट्रियसभामा अहिले ५८ सांसद छन् ।