राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति कैलालीमा कार्यरत जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई ६ महिना कैद र एक लाख २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ। पाल राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति कैलालीमा कार्यरत थिए। उनले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने भन्दै घुस मागेका थिए। 

यसको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि टोली सक्रिय भएको थियो। जसपछि यसै वर्षको ५ वैशाखमा उनलाई एक लाख २० हजार घुससहित रंगेहात पक्राउ गरिएको थियो। यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो। दर्ता भएको तीन महिना नपुग्दै यस मुद्दामा फैसला आएको छ। उनीमाथि २८ वैशाखमा मुद्दा दायर भएको थियो।