नेपाली सेनाले जनधनको सुरक्षाका लागि भन्दै काठमाण्डौ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा तथा कर्फ्युलाई निरन्तरता दिएको छ । किनमेल र लगायतका अत्यावश्यक कामको लागि आवतजावत गर्न बिहान पाँच घण्टा र बेलुकी दुई घण्टा समय निर्धारण गरिएको छ ।
आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी सात बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्युलाई निरन्तरता दिइएको छ । अत्यावश्यक कामको लागि आवतजावत गर्न आज बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी पाँच बजेदेखि सात बजेसम्म निर्धारण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निषेधाज्ञा तथा कर्फ्युको दौरान समेत अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायतको इन्धन, दूध, तरकारी, पानी, सञ्चारप्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने गाडीहरू सञ्चालन गर्न सकिनेछ । विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्थालगायतका सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कल परिचय पत्र (डिजिटल बाहेक) देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ ।
यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् भने आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सेनाले सबैमा अनुरोध गरेको छ । काठमाण्डौ उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थितिअनुरुप जिल्ला सुरक्षा समितिबाट निर्णय र समन्वय गरिएबमोजिम हुने सेनाले जनाएको छ ।
अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने भनि छुट्याइएको समय अत्यावश्यक सामग्री किनमेल एवम् धार्मिक–सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुल गर्न, कर्मचारीहरू आफ्नो कार्यस्थलसम्म जान र फर्कनलगायतका जरूरी कामका लागि भएकाले यस समयमा समेत जुलुस, धर्ना, प्रदर्शनलगायतका गतिविधिहरू गर्न पूर्णतः निषेध गरिएको सेनाले स्मरण गराएको छ ।
प्रतिक्रिया