सामाजिक सञ्जालमार्फत अनलाइन ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ की २९ वर्षीया सनिषा मल्ल रहेकी छन् ।
प्रहरीका अनुसार उनले फेसबुक, ह्वाट्सएपसहितका सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफू इटालीको नागरिक रहेको बताउने गर्थिन् । त्यसपछि विश्वास दिलाएर विस्तारै माया प्रेमको प्रपञ्चमा पारी आइफोन, लेडिज ब्याग, सुन तथा गरगहना र पाँचहजार डलरसहितको गिफ्ट पठाइदिएको बताउँथिन् ।
आफूले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको र पार्सल पाउन भन्सार शुल्क, डेलिभरी चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्ने बताउँथिन् । पीडितलाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटकपटक गरी १७ लाख १५ हजार रुपैयाँ पठाउन लगाएर उनले ठगी गरेको प्रहरीले जनाएको छ ।