विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई हरायो

विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको छ । दिल्लीमा जितका लागि २ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । भारतका कप्तान रोहित शर्माले विश्व कीर्तिमानी शतक बनाएको खेलमा अफगानिस्तान सहजै पराजित भयो । शर्माले सर्वाधिक १ सय ३१ रन बनाए । उनको यो विश्वकपको सातौँ शतक हो । योसँगै शर्मा विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् ।

विराट कोहली ५५ रनमा र श्रेयस ऐर २५ रनमा अविजित रहे । इशान किशन ४७ रनमा आउट भए । अफगानिस्तानका राशिद खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो ।

अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले सर्वाधिक ८० रन बनाए । त्यस्तै, आजमतुल्लाह ओमरजाईले ६२ रन जोडे । भारतका जस्प्रित बुमराहले ४ विकेट लिए । हार्दिक पान्ड्याले २ विकेट लिए । शार्दुल ठाकुर र कुलदीप यादवले १/१ विकेट लिए । भारतको लगातार यो दोस्रो जित हो ।