मुख्यमन्त्रीमा समर्थन गरेका कोशीको सांसदहरुको आज सनाखत हुँदै

मुख्यमन्त्रीमा समर्थन गरेका कोशी प्रदेशको सांसदहरुको आज सनाखत हुँदैछ । मुख्यमन्त्रीका लागि ४७/४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि अहिले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखत गर्न लाग्नुभएको हो । दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रकासाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ ।

गठबन्धनका तर्फबाट इन्द्रबहादुर आङ्बो र एमालेको समर्थनमा कांग्रेसका डा. शेखर कोइराला समूहका केदार कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न ४७–४७ जना सदस्यको समर्थन रहेको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न हिजो बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो ।  हिजो केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग राख्दै समर्थन गरेका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।  

कोशीमा विकसित राजनीतिक घटनाक्रम आफूअनुकूल बनाउन मुख्यमन्त्री दाबी गर्ने दुवै पक्ष दौडधुपमा व्यस्त छन् । कांग्रेस नेता डा. शेखर कोइरालालाई फकाउन गठबन्धनका नेताहरु लागेका छन् । मुख्यमन्त्रीमा एमालेको समर्थन त्यागेमा कांग्रेसका कार्कीलाई अघि बढाउन सकिने गठबन्धनको भनाइ छ ।