वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका उनलाई अदालतले कारागार कार्यालय डिल्लीबजारमा चलान गरिएको हो। गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।
जिल्ला अदालत काठमाडौंले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो। उच्च अदालतले भने सोही आदेशलाई सदर गरेको थियो। उच्च अदालतको आदेश बेरितको देखिएको भन्दै सर्वोच्चले बदर गरेको थियो। पीडित महिलाले गिरीविरूद्ध वैवाहित बलात्कारको जाहेरी दिएकी थिइन्। उक्त मुद्दाका साथै सम्बन्ध बिच्छेदको मुद्दा विचाराधीन रहेको अवस्थामा कोठामा आएर गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्।