काठमाडौंमा आज दिउँसो दिनभर बदली हुने भएको छ । बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । गएराति पनि मध्यम वर्षा भएको थियो,” मौसमविद् गोविन्द झाले भने, “आज बिहानैबाट सुरु भएको वर्षा दिउँसो र रातिका लागि पनि छ ।”
दिउँसो र राति वर्षा हुने भए पनि भारी वर्षाको सम्भावना भने नरहेको उनले बताए । “दिनभरी नै वर्षा हुने होइन । केही समय रहने र पुनः वर्षा हुनेक्रम चलिरहनेछ । तर, बदली भने दिनभरी हुनेछ,” उनले भने, “हल्का वर्षा हुने देखिन्छ । भारी वर्षाको सम्भावन छैन ।” भोलिबाट वर्षा केही कम हुने मौसमविद् झाले जानकारी दिए । “भोलिबाट मौसम पूरै खुल्ने होइन, वर्ष केही कम हुनेछ,” उनले भने, “आजको तुलनामा भोलि देशैभर कम वर्षा हुनेछ ।
गएराति लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षामापन भएको उनले जानकारी दिए । काठमाडौंमा मध्यम वर्षा भएको थियो । आज पनि केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना छ । झाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास र अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए ।