आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

एकदिवसीय क्रिकेट विश्वकपमा घरेलु टिम भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। शनिबार अहमदाबादमा भएको खेलमा भारतीय बलरले उत्कृष्ट प्रदर्शन गर्दा पाकिस्तान ४२.५ ओभरमा १९१ रनमै अलआउट भएको थियो। 

भारतले १९२ रनको लक्ष्य ३०.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। भारतका लागि कप्तान रोहित शर्माले ८६ रन जोड्दा श्रेयष अय्यरले नटआउट ५३ रन जोडे। त्यसअघि भारतले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर अजामले ५० रन र मोहमद रिजवानले ४९ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा पेभिलियन फर्के। पाकिस्तानका पछिल्ला ७ ब्याट्सम्यान मध्ये ६ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। 

बलिङमा भारतका जसप्रित बुमराह, मोहमद सिराज, हार्दिक पाण्ड्या, कुलदिप यादव र रविन्द्र जडेजाले २-२ विकेट लिए। अंक तालिकामा भारत ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको न्युजिल्यान्डको पनि समान ६ अंक छ। पाकिस्तान भने ३ खेलबाट ४ अंक जोड्दै चौथो स्थानमा छ।