कोरोना सङ्क्रमणदर उकालो लाग्दै, मापदण्ड पालना गर्न स्वास्थ्य निर्देशनालयको सुझाव 

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा पिसिआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमूना परीक्षण गरिएको छ ।

सङ्क्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । गतको बिहीबार एकै दिन ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमणदर बढेसँगै ‘एक्टिभ केश’ सक्रिय बिरामी पनि बढेका छन् । हाल कैलालीमा २२ र कञ्चनपुरमा एक सक्रिय बिरामी छन्। भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो । सीमानाका हुँदै भारतबाट भित्रिने बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ। कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ । रासस