नक्कली शरणार्थी प्रकरण : ठूला माछाहरु च्याप च्याप !

धादिङ - अहिले देशभरको माहोल नक्कली शरणार्थी र ठुला नेताहरु पक्राउ परेका बिषयहरु मुख्य समाचारका रुपमा आईरहेको छन् । उच्च तहका नेता र कर्मचारी समेत जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय विषय समेत बन्न पुगी सकेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमाथि राष्ट्रिय कानून सँगसँगै अन्तराष्ट्रिय कानून पनि आकर्षित हुने र अन्तर्राष्ट्रिय स्तरमा समेत मुद्दा चल्न सक्ने कानून व्यवसायीहरु बताउँछन् ।

अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, खाँणका स्वकीय सचिव इन्द्र केसी, रायमाझीका पुत्र सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहाकार ईन्द्रजित राई, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायत १३ जना प्रहरी हिरासतमा लिएर अनुसन्धानको दायरामा रहेका छन् । अहिले खाँण र रायमाझीको बयान जारी छ । अन्यको अनुसन्धान र बाँकी ठगहरुको खोजी पनि चल्दैछ । 

हाईप्रोफाईल नेतादेखि गृहप्रशाशन नै मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको गम्भीरता र यसको आयाम ठूलो छ । ठगी–कीर्ते, भ्रष्टाचार र मानव तस्करी जस्ता धेरै गम्भीर अपराध मिसिएको यस प्रकरणमा प्रहरीले हाल ठगी र संगठित अपराधमा मुद्दा चलाएर अनुसन्धान गरिरहेको छ । तर, नेपालीलाई संगठित नक्कली भुटानी शरणार्थी बनाउने र रकम उठाएर विदेश पठाउने गम्भीर आपराधिक धन्दामा ठगी र संगठित अपराधमा मात्र मुद्दा चल्ने नभई सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, मानवतस्करी सम्बन्धी कानून समेत आकर्षित हुने देखिएको अधिवक्ता ओमप्रकाश अर्यालले बताए । 

गत चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेपछि प्रहरीले यसको ठूला ब्यक्ति नै लागेको भन्दै अनुसन्धान सुरु गरेको थियो । सरकारी वकिलको निर्देशन कानुनसम्मत भएपनि समय अपर्याप्त भएको अधिवक्ता अर्यालको तर्क छ ।

उच्च ओहोदाको व्यक्तिहरु संलग्न रहेको मुद्दालाई कमजोर बनाउने गरेको थुप्रै उदाहरण छन् । तर यो मुद्दामा अलि गम्भिर भएर प्रस्तुत हुनुपर्ने माग उठ्दै आएका छन् । अहिले ठुला भनिएका नेताहरु नै पक्राउ पर्न थालेपछि सहि र सत्य तरिकाले अनुसन्धान गर्न अन्य राजनितिक पार्टीले आग्रह गरेका छन् ।