नक्कली लाइसेन्स प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले वन मन्त्रालयमा कार्यररत उपसचिव केशव अर्याल सहित पाँच जना पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उपसचिव सहित पाँच जनालाई पक्राउ गरेको छ।  यस प्रकरणमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको सिआइबी प्रवक्ता एवं एसपी होबिन्‍द्र बोगटीले जानकारी दिए। वन मन्त्रालयमा कार्यररत उपसचिव केशव अर्याल पक्राउ परेका हुन्। 

उनीसँगै सिआइबीले पदमराज आचार्य, सुवास पौडेल, दिलिपकुमार शाह र राजेश लम्साललाई पक्राउ गरेको हो। सिआइबीले नक्कली लाइसेन्स प्रकरणमा चरणचरणमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको छ। यातायात व्यवस्था विभाग र यस मातहत कार्यालयमार्फत् अनधिकृत रूपमा सवारी लाइसेन्स जारी हुने गरेको भन्ने गुनासो आउने गरेका थिए। गुनासो आएपछि यसबारे विभागले अध्ययन थालेको थियो। 

इडिएल प्रणालीमा चलखेल गरी लाइसेन्सहरू जारी हुने पत्ता लगायो। त्यस्तै लाइसेन्स नम्बर क्रमिक रूपमा जारी हुनुपर्नेमा सो अनुसार नभई शंकास्पद देखिएको भन्दै गत पुस २१ गते इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रेजिस्ट्रेसन सिस्टम (इडिएलभिआरएस) प्रणालीमा शंकास्पद रूपमा भण्डारण भएका तथ्याकंहरूको छानबिन गर्न समिति बनाएको थियो।