आज साउने संक्रान्ति : लुतो फाल्ने दिन

प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज (मंगलबार) देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ। अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ। कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ।

किराँत समुदायमा एकाबिहानै वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने चलन छ। साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ। यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै खराब तत्त्वलाई भगाउने चलन छ।

यता काठमाडौंलगायतका स्थानमा बसोबास गर्ने नेवार समुदायले यस पर्वलाई महत्त्व साथ मनाउँछ। साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ। आर्थिक कारोवार गर्नेहरूले पनि यो दिनलाई विशेष मान्छन्। नेपालको आर्थिक वर्ष साउन १ गते सुरु हुन्छ। कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन्।

आजै सोमबारे औँसी पनि परेको छ । औँसी तिथि र सोमबार एकै दिन परेको दिन सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाउँछन्। यस्तो संयोग परेको दिनलाई ‘मौनी औँसी’ पनि भनिन्छ ।