अन्ततः टेरामक्स लागू नहुने 

काठमाडौँ - नागरिकको कल डिटेल, एसएमएसलगायत गोप्य व्यक्तिगत विवरण संकलन गर्न सक्ने टेरामक्स प्रविधिबारे आलोचना र विवाद बढेपछि उक्त निर्णयबाट सरकार पछि हटेको छ । मंगलबार बालुवाटरमा सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले टेरामक्स कार्यान्वयन नहुने बताएका हुन्  । 

नेपाल दूरसञ्चार प्राधिकरण कानुनबिनै कार्यान्वयन गरेरै छाड्ने अडानमा थियो । कार्यान्वयनका लागि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले निरन्तर दबाब दिइरहेको थियो । प्रणाली जडानका लागि करोडौं मूल्यका सफ्टवेयर र प्रविधि खरिद गरिसकिएको भए पनि अहिलेकै अवस्थामा कार्यान्वयन गर्न नसकिने प्रधानमन्त्री दाहालले प्रस्ट पारेका हुन् ।

प्राधिकरणले समेत यो प्रणाली तत्काल कार्यान्वयन नहुने जनाएको छ । प्रणाली तत्काल कार्यान्वयनका लागि एक कार्यविधिको तयारी भइरहेको कान्तिपुरसँगको कुराकानीमा प्राधिकरण नेतृत्वले बताएको छ ।

सेवा प्रदायकलाई नागरिकको डाटा गोप्य राख भनेर निर्देशन दिने निकाय नै प्राधिकरण भएकाले आफैंले डाटा दुरुपयोग गर्ने भन्ने प्रश्नै नउठ्ने खनालले दाबी गरे । आफूहरूले टेरामक्सअन्तर्गतका साइबर सेक्युरिटी, फोन ट्यापिङजस्ता सबै फिचर नभई फ्रड म्यानेजमेन्ट, रेभेन्यु एसुरेन्स, भीओआईपी डिटेक्सन र क्वालिटी एसुरेन्स फिचर मात्रै लागू गर्ने गरी ल्याइएको अध्यक्ष खनालको भनाइ छ ।