त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई थान सिक्रीसहित दुईजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट अवैध सुनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ घर भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका–५ घर भएका २२ वर्षीय नारायण थापा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

एयर अरेबियाको उडानमार्फत बहराइनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले संकलन गरेर लैजान लागेको अवस्थामा सुनसहित प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

करिब ५० ग्राम तौलको दुई थान सिक्रीसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।