मत्स्यनारायण मेला आज सकिँदै

 काठमाण्डौँ - झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मन्दिरको मेला आज सकिँदैछ ।
तर, औपचारिक समापन भने भदौ १ गते गरिने संयोजकसमेत रहनुभएका चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो । 

काठमाण्डौको चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मन्दिरमा अहिले दैनिक हजारौँ भक्तजनको भिड लाग्ने गरेको छ ।
मत्स्यनारायण कीर्तिपुर र सतुङ्गल दुवै ठाउँबाट जान सकिन्छ । दुवैतिरबाट मत्स्यनारायण जान सार्वजनिक यातायात पाइन्छ ।

कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ सँग जोडिएको मत्स्यनारायण क्षेत्र धार्मिक रूपमा महत्त्वपूर्ण भए पनि यसको प्रचारप्रसार गरी धार्मिक पर्यटक वृद्धिको काम हुन नसकेको स्थानीयबासिन्दाको गुनासो छ । भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यही ठाउँमा लिएर उहाँले वेदको रक्षा गर्नुभएको विषय विभिन्न पुराणमा उल्लेख गरिएको छ ।