ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको रुद्रायणी देवीको १२ वर्षे मेला शुरु

ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला शुरु भएको छ । हिजोदेखि शुरु भएको मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुन्छ । धार्मिक तथा तान्त्रिक महत्त्वको यो मेलाका लागि १४ देवको गुफा राख्ने काम यसअघि नै भइसकेको छ ।

गुफापछि १२ वर्षे मेला औपचारिक रुपमा शुरु हुने गर्छ । विशेष गरी खोकनाका बासिन्दाले मनाउँदै आएको मेलामा सिकाली, खड्क, रुद्रायणीलगायतको जात्रा देखाइन्छ ।  जात्रा अन्तर्गत आउँदो कात्तिक ३ गते शिकाली जात्रा हुने र ४ गते नाच प्रदर्शन गरिने श्रीरुद्रायणी गुठीले जनाएको छ । मेला अवधिभर खोकनामा जात्रा र देवीनाच प्रदर्शन गरिन्छ । १२ वर्षको अन्तरालमा आउने रुद्रायणी देवीको मेला विशेष रहेको छ ।