सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज

सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, कुमार चुडाल र सुनीलकुमार पोखरेलको पूर्ण इजलासले हिजो निर्देशनात्मक आदेश गर्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध गएको वैशाख ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।

एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले रिट निवेदन दायर गर्नुभएको थियो । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि पहिलोपटक दाबी पेस गर्न समय दिँदा एकीकृत समाजवादीको समर्थनसहित लक्ष्मणकिशोरलाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।

त्यही समयमा नाउपाकै कैलाश चौधरीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसदीय दलका नेताको समर्थनसहित दाबी पेस गर्नुभएको थियो । प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीलाई खारेज गरी फेरि दाबी पेसका लागि समय दिएपछि सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।