कालिमाटीस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्थाका दुई सञ्चालक पक्राउ

काठमाडौंको कालिमाटीस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्थाका दुई सञ्चालकलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान थालेको छ। सहकारीका कोषाध्यक्ष रामकृष्ण अवाले र सदस्य सरोज महर्जन पक्राउ परेका हुन्। सो सहकारीमा सर्वसाधरणको एक अर्बभन्दा धेरै रकम डुबेको छ।

सहकारीका सञ्चालकविरुद्ध ५८ सदस्यको १५ करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी परेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। ललितुरस्थित सुमेरु सहकारीका अध्यक्ष भरत महर्जनको समूहले नै कालिमाटीमा सहकारी चलाउँदै आएको थियो। महर्जन हाल फरार छन्।

ललितपुर, काठमाडौं र भक्तपुरमा उनले तीनवटा सहकारी चलाएर १० अर्ब रुपैयाँ भन्दा धेरै हिनामिना गरेको उजुरी परेको छ। विदेशमा रहेका महर्जनविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।