एकदिवसीय विश्वकपमा अस्ट्रेलियाको पहिलो जित

एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ । अस्ट्रेलियाले सोमबार भएको खेलमा श्रीलंकाविरुद्ध पाँच विकेटको सहज जित निकालेको हो । श्रीलंकाले प्रस्तुत गरेको २१० रनको लक्ष्य अस्ट्रेलियाले ३५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा जस इङ्लिसले ५८ रन बनाए । ओपनर मिचेल मार्सले ५२ रन थपे । मार्नुस लाबुसचेन्जले ४०, ग्लेन म्याक्सवेलले ३१, मार्कुस स्टोइनिसले २० र डेविड वार्नरले ११ रन जोडे । दिल्सान मदुसन्काले तीन विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राख्दै ३८ रन खर्चिए । दुनिथ वेलालागेले एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको श्रीलंकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर २०९ रनको योगफल खडा गरेको थियो । श्रीलंकाका ओपनरद्वय किशल परेरा र पथुम निसान्काले क्रमशः ७८ र ६१ रन जोडेका थिए । यी दुईले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

यसपछिका कुनै पनि ब्याटरले उल्लेख्य योगदान पुर्याउन नसक्दा श्रीलंका २०९ रनमै समेटियो । चरिथ असलन्काले २५ रन थप्दा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए । आठ ओभर बलिङ गरेक उनले एक मेडन राख्दै ४७ रन खर्चिए । मिचेल स्टार्क र प्याट कुमिन्सले समान दुई विकेट लिए । ग्लेन म्याक्सवेलले एक विकेट हात पारे ।