रौतहटको ईशानाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रौतहटको ईशानाथ नगरपालिका–५ मा श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बनाउँदा भ्रष्टाचार गरेको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा उनीहरुले अनियमितता गरेको पाइएपछि सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । भवन निर्माण मापदण्ड, गुणस्तर र इष्टिमेट विपरित भवन निर्माण गरेको अभियोग आयोगको छ । प्रतिवादी बनाइएका नगरपालिका तत्कालीन ईन्जिनियर सत्यपाल सौरभले ८६ हजार ६ सय ४७ रुपैयाँ ६३ पैसा बढी भुक्तानी गर्न बिल पेश गरेका थिए ।

अर्का प्रतिवादी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार ९ सय कार्य बराबरको रकम खर्च भएको देखिएपनि उनले दुई लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बढी भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरले १३ लाख ५३ हजार ५० रुपैयाँ खर्च देखाउनुपर्नेमा तीन लाख तीन हजार ७ सय ९७ रुपैयाँ ३७ पैसा बढी खर्च लेखेका थिए । 

आयोगले इन्जिनियर सौभरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र ८६ हजार ६ सय ४७ रुपैयाँ ६३ पैसा  बिगो जरिवानाको मागदावी लिएको छ । अर्का प्रतिवादी गुप्ताविरुद्ध सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम दुई लाख ३५ हजार ८ सय ९५ रुपैयाँ बिगो जरिवानाको मागदावी गरेको छ । अख्तरको हकमा पनि ऐनको एउटै दफा र उपदफा अनुसार कैद सजाय र तीन लाख तीन हजार ७ सय ९७ रुपैयाँ ३७ पैसा बराबरको बिगो जरिवानाको मागदावी गरेको छ ।