प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले यही जेठ ७ गते विश्वासको मत लिन संसद सचिवालयलाई पत्र पठाएका हुन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यस अघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।

त्यसपछि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो । प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरी गठबन्धन बदलेपछि विश्वासको मत लिएका थिए । त्यति बेला २६८ सांसदले मतदान गरेकोमा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो ।