रात्रिकालीन व्यवसायीहरूबाट महिनावारी शुल्क उठाउने वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी परेको छ । पोखराका पर्यटन व्यवसायीहरूले गत असार २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी दिएका थिए । डीएसपी श्रेष्ठले पदको दुरुपयोग गरेर गैरकानुनी काम गरेको उजुरीपत्रमा उल्लेख छ । उजुरीमा श्रेष्ठले प्रहरी जनशक्ति परिचालन गरेर रात्रिकालीन व्यवसायीहरूबाट महिनावारी शुल्क उठाउने गरेको दाबी गरिएको छ ।

“व्यवसायीहरूले डीएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म बुझाउने गरेका छन्,” उजुरीमा भनिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका शाखा अधिकृत विन्दु भण्डारीले उजुरी असार ३० गते दर्ता भएको पुष्टि गरिन् ।

व्यवसायीहरूले पैसा माग्ने उद्देश्यले डीएसपी श्रेष्ठले क्लब डान्सबार, दोहोरी साँझ गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारबाहीको नाटक गर्दै आएको बताएका छन् । क्लब, डान्सबार र दोहोरीमा हुने झगडाहरूमा प्रहरीले पैसाकै लागि बार्गेनिङ गरिरहेको आरोप उनीहरूको छ ।

क्लबभित्र अन्य व्यक्तिको झगडामा पनि प्रहरीले बाउन्सरविरुद्ध जाहेरी दिन लगाएर पीडितलाई उल्टो थुनामा राख्ने हर्कत गरेको पत्रमा उल्लेख छ । नेपाल भ्रमण आउने भारतीयहरूलाई विभिन्न बहानामा पक्राउ गर्ने र रकम लिएर छाड्ने गरेको उनीहरूको आरोप छ । 

उनीहरूले यस विषयमा आईजीपी वसन्त कुँवरसँग पनि बयान लिन आग्रह गरेका छन् । डीएसपी श्रेष्ठमाथि भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार कारबाही गर्न व्यवसायीको माग छ । यता डीएसपी श्रेष्ठले भने आफूमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् । पोखराका एउटा क्लवले आफूविरुद्ध निराधार हल्ला फैलाउन हात धोएर लागिपरेको उनले बताए ।

“मलाई हटाउँछु भनेर पनि लागिपरेको छ । तर, यो सब प्रोपोगान्डाबाहेक अरू केही होइन, विवादमा पार्ने र हटाउने षड्यन्त्र मात्र हो,” उनले भने ।