एक लाख फर्जी लाइसेन्स जारी गर्ने प्रक्रियामा संलग्न चार सय कर्मचारीको विवरण अख्तियारमा

लिखित र ट्रायलविना नै एक लाखभन्दा बढी नक्कली सवारी लाइसेन्स जारी प्रकरणमा संलग्न करिब चार सय कर्मचारीको विवरण अख्तियारले लिएको छ । यातायात व्यवस्था कार्यालयहरूमा कार्यरत रहेर नक्कली लाइसेन्स जारी गर्ने प्रक्रियामा संलग्न देखिएका उनीहरूको विवरण अहिले अख्तियारले केलाइरहेको छ । 

नक्कली लाइसेन्सको छानविनका क्रममा अख्तियारले यातायात व्यवस्था विभागसँग नक्कली लाइसेन्स जारी गर्ने काममा ‘युजर आइडी’ तथा ‘पासवर्ड’ भएका र निर्णय प्रक्रियामा संलग्न कर्मचारीको विवरण मागेको थियो। अख्तियारको पत्रबमोजिम यातायात कार्यालयहरूले नक्कली लाइसेन्समा संलग्नता खुलेका कर्मचारीको विवरण पठाएका हुन्। त्यसमा स्थायी र करार दुवैथरि कर्मचारी छन्। 

०७२ सालदेखि नक्कली लाइसेन्स जारी भएको देखिएकामा त्यही समयदेखि यस प्रक्रियामा संलग्न कर्मचारीको विवरण अख्तियारले लिएको हो । देशभरका सबै यातायात कार्यालयहरूबाट नक्कली लाइसेन्स जारी भएको देखिएको छ । नक्कली लाइसेन्स जारी हुँदाको समयसम्म यस्ता कार्यालय ३५ वटा थिए। अर्थात् देशैभरका यातायात कार्यालयबाट कर्मचारीको विवरण अख्तियारले लिएको छ । 

यातायात व्यवस्था विभागले नक्कली लाइसेन्सका विवरण यसअघि नै यकिन गरिसकेको छ। अख्तियारले अनुसन्धानका क्रममा थप सूचना मागेर त्यसमाथि गहन अनुसन्धान थालिरहेको छ। विभागको छानबिनले ०७२ यता ०८० सम्म लिखित र ट्रायलविना नै एक लाख दुई हजारको संख्यामा नक्कली लाइसेन्स जारी भएको देखाइसकेको छ । यही प्रतिवेदनको आधारमा अख्तियारले छानबिन थालेको हो। 

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली लाइसेन्ससँग सम्बन्धित देखिएका दुईवटा मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरिसकेको छ । नक्कली लाइसेन्सधारीले चलाएको गाडीको ठक्करबाट यात्रुको मृत्यु भएको घटनामा चालकसहित सात र फर्जी कागजातका आधारमा लाइसेन्स प्रिन्टिङको अर्को मुद्दामा अरू सातजनालाई प्रतिवादी कायम गरेर सिआइबीले गत जेठमा दुई मुद्दा दायर गरिसकेको छ। ती मुद्दा अहिले विचाराधीन छन्। 

सिआइबीले मुद्दा दायर गरेका विषयमा प्रतिवेदनसहित थप अनुसन्धानका लागि अख्तियारमा समेत पत्र पठाएको थियो। विभागले पनि त्यसअघि नै आफ्नो छानबिन प्रतिवेदन अख्तियारमा पठाइसकेको थियो।  सिआइबीले मुद्दा दायर गरे पनि तत्कालीन समयमा विभागीय नेतृत्वमा रहेका उच्च अधिकारीमाथि भने मौनता छ। यो समाचार नयाँपत्रिका दैनिकबाट साभार गरिएको हो ।