बाग्मती, गण्डकी र लुम्बिनीमा ठूलो वर्षा : नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

पछिल्लो ६ घण्टामा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार गोरखाको आरुघाटमा रहेको मापन केन्द्रमा ६ घण्टामै १ सय ८ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै नुवाकोट, दैलेख, रोल्पा, दाङ, कपिलवस्तु, पाल्पा, पर्सा लगायतका जिल्लामा पनि अति ठूलो पानी परेको छ ।

पछिल्लो एक घण्टामा भने बागमती प्रदेशमा वर्षा कम भएर गण्डकी, लुम्बिनी हुँदै पश्चिम तराईमा पानी परिरहेको छ । ठूलो पानी परेसँगै विभिन्न नदी तथा खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाले सूचना निकालेर काठमाण्डौ उपत्यकाका नदीसहित दैलेख, प्यूठान, कपिलवस्तु, गोरखा, पाल्पा, सिन्धुपाल्चोकका जिल्लामा रहेका साना तथा ठूला नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ । आज दिउँसो पनि गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।