आज हरितालिका तीज, देशभरका शिवालयमा भक्तजनको घुइँचो, पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

काठमाडौं । हरितालिक तिज पर्वका अवसरमा  पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । तिज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ बजे नै मन्दिरका चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण  महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए । 

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लाइनको व्यवस्था गरिएको छ । पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषले ६ बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । बिहानको समयमा भक्तजन लाइनमा बसेको आधा घण्टामा दर्शन गरेर फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।

आज काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।