लेबनानमा हिजबुल्लाह सदस्यको पेजर विस्फोट : नौ जनाको मृत्यु, साढे २७ सय घाइते

लेबनानमा हिजबुल्लाह सदस्यहरूको शृंखलाबद्ध पेजर (एक सञ्चार उपकरण) विस्फोटका क्रममा नौ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा हिज्बुल्लाहका दुई सदस्य र एक बालिका पनि सामेल छन् ।

 अल्जजिराका अनुसार, विस्फोटबाट दुईहजार ७५० जना घाइते भएका छन् । जसमध्ये २०० को अवस्था गम्भीर छ । मिडिया रिपोर्टका अनुसार, पेजर ह्याक गरी ब्लास्ट गरिएको हो । यस ह्याकिङको पछाडि इजरायलको हात रहेको दाबी गरिएको छ । हिजबुल्लाहले आक्रमणमा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ ।

तर, इजरायलले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय समयअनुसार, मंगलबार दिउँसो करिब ३ः३० बजे विस्फोट भएको हो । पेजर सन्देश पठाउन र प्राप्त गर्न प्रयोग गरिने वायरलेस यन्त्र हो । यसमा सानो स्क्रिन र सीमित किप्याडमात्र हुन्छ । यसको मद्दतले सन्देशहरू, अलर्टहरू वा कलहरू द्रुतरूपमा प्राप्त गर्न सकिन्छ ।

मोबाइल फोन अघि पेजरको प्रयोग प्रचलनमा थियो । पछि यसको प्रयोग क्रमशः घट्दै गयो । तर, लेबनानमा अझै पनि प्रयोग भइरहेको छ ।लेबनानी वेबसाइट नाहरनेटका अनुसार पेजर विस्फोटमा इरानी राजदूत मोजतबा अमानी पनि घाइते भएका छन् । मिडिया रिपोर्टअनुसार, शृंखलाबद्ध विस्फोटमा एकहजार भन्दा बढी हिजबुल्लाह सदस्यलाई निशाना बनाइएको छ ।