स्काउटको जग्गा हडपेर काङ्ग्रेस सांसद खड्काले बनाएको संरचनामा प्रशासनको ताला

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद दिपक खड्काले सत्ता र शक्तिको दुरुपयोग गरी नेपाल स्काउटको जग्गा हडपेर भाडामा लगाएको संरचनामा काठमाडौं जिल्ला प्रशासनले ताला लगाएको छ। बिहीबार राति काठमाडौं जिल्ला प्रशासनले प्रहरीको सहयोग लिएर वडा वडा कार्यालयसमेतको रोहवरमा रेस्टुरेन्ट र पार्टी प्यालेसमा सिल गरेको छ। १५ वर्षदेखि भाडामा लिएर सञ्चालनमा रहेकोे लैनचौर बैक्वेट र सँगै जोडिएको माई च्वाइस रेस्टुरेन्टमासमेत ताल लगाएको हो।

यसअघि  गृह मन्त्रालयले पनि नेपाल स्काउटको जग्गा खाली  गराउन काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको नेतृत्वमा टोलीमा महानगरीय प्रहरी वृत्तका डिएसपी सत्यनारायण मण्डल र काठमाडौं महानगरपालिका - २६ का वडा अध्यक्ष ख्यामराज तिवारी पनि थिए । खटिएका टोलीले मुल गेटसहित चारवटा ढोकामा सिल गरेको छ।