नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका मुख्य बिचौलिया बेचन झा जेल चलान

नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका बिचौलिया बेचन झा जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार थुनामा पठाउने आदेशसँगै उनी केन्द्रीय कारागार चलान भएका हुन् । 

एक वर्षदेखि फरार रहेका झालाई गत १४ असारमा प्रहरीले पक्राउ गरेको थियो । गत मंगलबार संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा दायर भएकोमा पाँच दिन बयान र थुनछेक बहसपछि थुनामा राख्ने आदेश भएको हो । 

इन्कारी बयान दिएका झाविरुद्ध प्रहरीले अन्य प्रमाण जुटाएकोमा सोही आधारमा उनी जेल चलान भएका हुन् । प्रहरीले यसअघि दायर गरेको अभियोगपत्रअनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले नै भेट गराइदिएका थिए । हाल पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै यो तथ्य खुलाएका थिए । उनले बयान दिएका थिए, ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’ कांग्रेसका उच्च तहका नेताहरूसँग झाको निकटस्थ सम्बन्ध रहेको सूचना प्रहरीसँग झाले बोल्न नमान्दा थप नेक्सस खोल्न नसकेको प्रहरी अधिकारीहरू बताउँछन् । 

झाले चेक नलिएको बयान दिए पनि प्रहरी अनुसन्धानले भने उनले चेक लिएर खातामा जम्मा गरेको पुष्टि भएको छ । झाको कम्पनीमा काम गर्ने कर्मचारीले सो कुरा पुष्टि गरेका हुन् । उनको विभान्सु ट्रेडर्स नामक कम्पनीमा काम गर्ने कर्मचारी कञ्चन श्रेष्ठले सो कुरा प्रहरीमा प्रमाणित गरिदिएका हुन् । झाले दर्तामा छुट भएका नक्कली भुटानी शरणार्थीको सूचीमा पारेर अमेरिका पठाउन मन्त्रिपरिषद्बाटै निर्णय गरिदिने भन्दै रामशरण केसीसँग दुई करोडको चेक लिएका थिए । सो चेक आफ्नो खातामा जम्मा गर्न उनले कञ्चनलाई लगाएका थिए । 

झाको इन्भेस्टमेन्ट बैैंकको खातामा सो चेक जम्मा गरिएको थियो । तर, पैसा नपुगेपछि बैंकबाट चेक फिर्ता आएको र आफूले झालाई दिएको कञ्चनले प्रहरीमा गरेको कागजमा उल्लेख छ । प्रहरीले अनुसन्धानका क्रममा उनीविरुद्ध संकलन गरेको सबैभन्दा बलियो प्रमाण यही हो । पछि सो चेक नसाटिएपछि हरिभक्त महर्जनले उनलाई नगदै दिएको समेत अनुसन्धानमा खुलेको छ । तर, त्यस विषयमा भने विस्तृत अनुसन्धान हुन सकेन । 

पहिलो चरणमा प्रहरीले ३० जनाविरुद्ध १० जेठ ०८० मा मुद्दा दायर गरेको थियो । दोस्रो चरणमा पाँच बिचौलियाविरुद्ध पूरक अभियोग दायर भएकोमा हाल दोस्रो पूरक अभियोग अदालत पुगेको हो । प्रहरीको इतिहासकै हाई प्रोफाइल मुद्दा मानिएको यसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत पक्राउ परेका थिए ।

त्यस्तै, रायमाझीका छोरा सन्दीप रायमाझी, खाणका पिए नरेन्द्र केसी, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलगायत पक्राउ परेका थिए । उनीहरूमध्ये टोपबहादुर, टेकनारायण, इन्द्रजित, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा र प्रतीक थापा पुर्पक्षका लागि कारागारमा छन् । झा पनि थुनामा परेपछि अब यो मुद्दामा जेलमा हुनेको संख्या आठ पुगेको छ ।