कबड्डी टोली विशेष प्रशिक्षणका लागि भारत जाँदै

 काठमाडौँ - चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाने भएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीमा मेनुकाकुमारी राजवंशी कप्तान, मानमति विष्ट, अनुजा कुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बडु, अर्पणा चौधरी, गङ्गा चौधरी, इशा राई र कलावती पन्त रहेका छन् ।

प्रशिक्षकमा पार्वती राई र विष्णु दत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त रहेका छन् । टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।